सामान्य चिकित्सक (जीपी)
यदि तपाईं बिरामी हुनुभएमा तपाईंले भेट्नु पर्ने पहिलो स्वास्थ्यकर्मी सामान्यतया एक सामान्य चिकित्सक (जीपी) हुन्। तिनीहरूले स्वास्थ्य सल्लाह दिन्छन्, औषधि लेख्छन्, स्वास्थ्य जाँच प्रदान गर्छन्, र आवश्यक परेमा तपाईंलाई विशेषज्ञ डाक्टर वा अस्पतालमा पठाउन सक्छन्।
तपाईंको स्वास्थ्य र तपाईंलाई भएका कुनै पनि स्वास्थ्य समस्याहरूको बारेमा राम्रोसँग बुझ्नको लागि सधैं एउटै जीपीलाई भेट्नु राम्रो हुन्छ।
यदि तपाईंलाई औषधिको आवश्यकता पर्यो भने, तपाईंको जीपीले तपाईंलाई प्रेस्क्रिप्शन दिन सक्छ। केही औषधिहरू, जस्तै एन्टिबायोटिक, चिकित्सकको प्रेस्क्रिप्सन आवश्यक पर्छ। तपाईंले उक्त प्रेस्क्रिप्सन लिएर फार्मेसी मा जानुपर्छ, जहाँ तपाईं ती औषधिहरू किन्न सक्नुहुन्छ।
यदि तपाईंसँग मेडिकेयर कार्ड छ र तपाईंको जीपी बल्क बिल गर्छन् भने, तपाईंको भ्रमण नि:शुल्क हुन्छ। यदि तपाईंको जीपीले बल्क बिल गर्दैनन् भने, तपाईंले आंशिक वा सबै खर्च तिर्नु पर्ने हुन्छ ।
केही जीपीहरूले कम शुल्कमा सेवाहरू प्रदान गर्छन्, वा तपाईंको निजी स्वास्थ्य बीमा वा विदेशी विद्यार्थी स्वास्थ्य कभरले तपाईंको तपाईंको जीपी (GP) भेटघाटको खर्च व्यहोर्न सक्छ ।
जीपीसंग भेटघाट गर्नुअघि तपाईंले पैसा तिर्नुपर्छ कि पर्दैन भनेर सधैं बुझ्नुहोस्।
विशेषज्ञहरू
विशेषज्ञहरू त्यस्ता डाक्टर हुन् जसले विशेष स्वास्थ्य समस्याहरू भएका व्यक्तिहरूको उपचार र हेरचाह गर्न तालिम लिएका हुन्छन्। यदि तपाईंलाई थप परीक्षण वा विशेष उपचार आवश्यक छ भने तपाईंको जीपीले तपाईंलाई विशेषज्ञलाई भेट्न सुझाव दिन सक्छन्। उदाहरणका लागि, मुटुको समस्याहरूको लागि तपाईंले एक हृदय रोग विशेषज्ञलाई भेट्न आवश्यक पर्न सक्छ जसले तपाईंको उपचार र हेरचाहलाई नजिकबाट निरीक्षण गर्नेछ।
विशेषज्ञलाई भेट्नको लागि, तपाईंसँग तपाईंको जीपीबाट रेफरल पत्र हुनुपर्छ र तपाईंले अपोइन्टमेन्ट लिनुपर्छ।
विशेषज्ञलाई भेट्ने लागत महँगो हुन सक्छ। तपाईंसँग मेडिकेयर कार्ड भए पनि तपाईंले तिनीहरूलाई भेट्न रकम तिर्नुपर्ने हुन सक्छ। तपाईंको निजी स्वास्थ्य बीमा अन्तर्गत कम लागतमा सेवाहरू प्रदान गर्ने केही विशेषज्ञहरू छन्।
तपाईंको लागि उपयुक्त डाक्टर वा विशेषज्ञ फेला पार्न यहाँ क्लिक गर्नुहोस्।
